दोलखा, ४ भदौ । नेकपा (एमाले) दोलखा जिल्ला कमिटी र दोलखाका सबै स्थानीय तहका कमिटीहरूले पार्टीको केन्द्रीय कमिटी बैठकले पारित गरी अगाडि सारेको विधान संशोधन प्रस्तावलाई सर्वसम्मतरूपमा समर्थन जनाएका छन् । पार्टी केन्द्रले विधान संशोधन प्रस्तावमा छलफल र सुझाव प्रस्तुत गर्न तल्ला तहका कमिटीमा पठाएपछि दोलखा जिल्ला कमिटी र मातहतका सबै कमिटीहरूले बैठक बसी विधान संशोधन प्रस्तावमा छलफल चलाएका थिए ।
पार्टीको विधान महाधिवेशनमा निर्णयार्थ प्रस्तुत हुने विधान संशोधन प्रस्ताव गरिएको ७० बर्ष उमेर हद र दुई कार्यकाल हटाउने व्यवस्थाको पक्षमा सिङ्गो दोलखा एकमतले उभिएको छ ।
त्यसैगरी, पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्किन उचित नहुने पार्टी केन्द्रीय कमिटीको नवौं बैठकको निर्णयमा पनि दोलखाले सर्वसम्मत समर्थन जनाएको पार्टीका पोलिटव्यूरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरूङले बताए । यसैगरी, दोलखा जिल्ला कमिटीको आज बसेको बैठकमा पार्टीका नेताकार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने लगायत विभिन्न सुझाव दिइएको छ भने जिल्लामा सञ्चालन भएका अभियानहरूको समीक्षासहितका निर्णय गरिएको छ ।
बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङको उपस्थिति र जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरूङले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा नफर्किई सम्मानित जीवन व्यतित गर्नु उचित हुने बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको नवौं बैठकको निर्णय र अन्तरपार्टी निर्देशन–१२ ले पूर्व राष्ट्रपति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले लोकतान्त्रिक मूल्यहरूलाई कमजोर पार्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गरेको स्मरण गराउँदै पोलिटव्यूरो सदस्य गुरूङले आफूलाई दुई कार्यकाल राष्ट्रपति बनाएको एमालेको यस निर्णयलाई मनन गर्नु पूर्व राष्ट्रपति भण्डारीको दायित्व हुने धारणा राखेका थिए ।
बैठकमा जिल्लास्तरीय संगठन सुदृढीकरण, पार्टीका गतिविधि र विधान महाधिवेशन लक्षित तयारीबारे छलफल गरिएको जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिएका छन् ।
गत असार ७ गते बसेको जिल्ला कमिटीको सचिवालय बैठकले विधानमा उमेर हद र दुई कार्यकालको सीमा लगाइनु नहुने र सम्मानित पूर्वराष्ट्रपति पुन दलविशेष राजनीतिमा फर्कन नहुने सर्वसम्मत निर्णय गरी पार्टीको केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरेको स्मरण गर्दै केन्द्रीय कमिटी बैठकले यस विषयलाई सम्बोधन गरेकामा जिल्ला कमिटीको बैठकले केन्द्रीय कमिटीप्रति आभार व्यक्त गरेको छ ।











प्रतिक्रिया