
जनकपुरधाम, २ भदौ । मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
विगत तीन वर्षयता मधेशका आठवटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० बालबालिका रहेका छन् भने मृतक बालबालिकामध्ये बालकको सङ्ख्या बालिकाभन्दा बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।
डुबेर बालबालिकाले बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन् । जसलाई मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेशमा ५८६ जना रहेका छन् भने त्यसमध्ये बालबालिका ३४० जना रहेका छन् । जसमा बालक २२७ र बालिका ११३ रहेका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेशमा पानीमा डुबेर मृत्यु हुनेको जम्मा सङ्ख्या २५६ पुगेको छ, जसमा बालक ९६, बालिका ५४, पुरुष ८२ र महिला २४ रहेका छन् ।
यस्तै आव २०८०/०८१ मा १७५ जनामा बालक ७३, बालिका ३९, पुरुष ५० र महिला १३ जना रहेका छन् भने २०७९/०८० मा १५५ जनामा बालक ४८, बालिका ३३, पुरुष ६२ र महिला १२ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहले छारे रोग, जथाभाबी बनाइएका खाल्डाखुल्डी र अभिभावकको लापरबाहीका कारण अधिकाशं बालबालिकाको पानीमा डुबेर मृत्यु भएको बताए । उनका अनुसार बालिकाभन्दा बालक र महिलाभन्दा पुरुषको पानीमा डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा प्रदेशको आठवटै जिल्लामध्ये सबै भन्दा बढी धनुषामा रहेका छन् भने सबैभन्दा कम पर्सामा रहेको तथ्याङ्कले देखाएको छ ।








प्रतिक्रिया