काठमाडौं, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सारिएका उनलाई सोमबार उपसभापति डिपी अर्यालले भेटेका थिए।
भेटपछि अर्यालले लामिछानेको छालामा उल्लेखनीय परिवर्तन देखिएको बताएका छन्। उनले भने, “आज भेट्दा उहाँको स्किन पहिलेभन्दा निकै फरक देखियो। मैले तुरुन्तै जेल प्रशासनलाई स्वास्थ्य परीक्षण आवश्यक भएको जानकारी गराएँ।”
लामिछानेलाई जन्डिस (कमलपित्त) को आशंका गरिएको छ। जन्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले बतायो।
उनको अनुमानमा, लामिछानेलाई देखिएको समस्या रुपन्देही कारागारमा घाम नपाएको कारण हुन सक्छ। “त्यहाँ उहाँलाई कोठाबाट बाहिर निस्कन दिइएको थिएन। हामी भेट्न जाँदा अँध्यारो कोठामै बस्ने गर्नुहुन्थ्यो,” उनले स्मरण गरे।
अर्यालका अनुसार, नख्खुमा भने पहिलोपटक खुला स्थानमा लामिछानेसँग भेट भएको हो। भेटका क्रममा उनीहरूबीच समसामयिक विषयमा केही समय कुराकानी पनि भएको उनले बताए।








प्रतिक्रिया