काठमाडौं, २ भदौ । यसवर्षको प्रा. डा. स्व. शान्ता थपलिया महिला सशक्तीकरण सम्मान–२०८२ महिला अधिकारकर्मी रेणु अधिकारीलाई प्रदान गरिएको छ । कानुनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक० को ३९ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
३ दशकभन्दा बढी समयदेखि महिला हक हितका लागि योगदान गर्दै आएकी रेणु अधिकारीले सम्मानले आफूलार्ई जिम्मेवारी थपेको बताइन् । कानुनमा परिवर्तन भएपनि व्यवहारमा महिला विरुद्धको विभेद अझै कायम रहेको उल्लेख गर्दै उनले पीडित महिलाले न्यायको अनुभूति गर्न नसक्ने अवस्थाले दुखित बनाएको धारणा राखेकी छिन् । उनले महिलाप्रति हुने व्यवहार र मानसिकता परिवर्तनमा अझ धेरै काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै, पुनावती प्रसाई महिला अधिकार तथा उत्थान सम्मान महिला उद्यमी इन्दिरा सापकोटाले प्राप्त गरेकी छन् । साथै, उत्कृष्ट संस्था सम्मान टेवालाई र उत्कृष्ट कर्मचारी सम्मान अधिवक्ता शकुन्तला बस्नेतलाई प्रदान गरिएको छ भने यस अवसरमा रामबाबु प्रसाई छात्रवृत्ति विपन्न परिवारकी छात्रा यशोदा श्रेष्ठलाई प्रदान गरेको छ । कार्यक्रममा महिला उद्यमी इन्दिरा सापकोटाले महिला तथा जेष्ठ नागरिक विरुद्धको आर्थिक विभेद अन्त्यका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलले प्रा. डा. शान्ता थपलियाले महिलाको सम्पत्ति सम्बन्धी अधिकारका लागि गरेको संघर्षलाई स्मरण गर्दै, हालसम्म कार्यान्वयन प्रभावकारी नहुँदा महिला अधिकारमा निरन्तर प्रहार भइरहेको परिस्थितिमा ल्याकजस्ता संस्थाको भूमिका अझ महत्वपूर्ण बनेको टिप्पणी गरे ।
ल्याककी कार्यकारी निर्देशक अनिता थपलियाले ल्याकले महिला बालबालिका तथा सिमान्तकृत समुदायको हक अधिकार, सशक्तीकरण र संक्रमणकालीन न्यायका क्षेत्रमा निरन्तर वकालत गर्दै आएको तर यो यात्रा सहज भने नभएको बताइन् ।
ल्याकले निःशुल्क कानुनी सहायता मार्फत ६२ जिल्लाका ५३ हजार ५ सय ७३ महिलालाई न्यायको अनुभूति गराउदा सबैको सहयोगले नै उर्जा मिल्ने गरेको धारणा राखेकी थिइन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता प्रसाई, नायव महान्यायधिवक्ता खेमराज ज्ञवाली, नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा बिजय मिश्र, राष्ट्रिय महिला आयोगका सचिव श्री रेखा कडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री मान बहादुर अर्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको सामाजिक लेखा परिक्षण, स्वतन्त्र लेखा परिक्षक बाल मुकुन्द आचार्यले प्रस्तुत गरेका थिए ।














प्रतिक्रिया