
काठमाडौँ, २ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आज देखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन् “यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ ।”
उनले हाम्रा सामु खडा भएका जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै यो दायित्व सबैको हो भनेर लाग्नुपर्ने बताइन् ।
विश्व मौसम विज्ञान सङ्गठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेकोमा पनि उनको जोड थियो ।








प्रतिक्रिया