२० जेष्ठ २०८३, बुधबार

हिल्सामा सडक कालोपत्रे गर्न सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हुम्ला, १ भदौ । चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालपट्टिको सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ । यसअघि गत मङ्सिरमा दुई देश जोड्न मितेरीपुल चिनियाँ पक्षले नै निर्माण गरिसकेको र अब सम्झौता अनुसारको नेपालतर्फको सडक कालोपत्रे गर्न सुरु गरेको हो ।

चिनियाँ पक्षले हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे सुरु गरेको र त्यसको अनुगमन तथा समन्वय गर्ने जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए । हिल्साको कर्णाली नदीमाथि दुई देश जोड्ने पक्की पुल यसअघि नै निर्माण भइसकेको छ । दुई देशबिच भएको सम्झौता अनुसार पक्की पुल निर्माण गरिसकेपछि चीन सरकारले नेपालतर्फको पुलको अन्तिम विन्दुबाट साढे तीन सय मिटर सडक निर्माण गरेर कालोपत्रे गर्नुपर्ने उल्लेख भए अनुसार सो सडक कालोपत्रे सुरु भएको उनले बताए ।

कालोपत्रे मापदण्ड अनुसार सुरु भएको र अब केही दिनमा सम्पन्न भइसक्ने जनाइएको छ । कालोपत्रेका लागि आवश्यक उपकरण र निर्माण सामग्रीसमेत सबै निर्माण स्थलमा जम्मा गरिरहेको छ । सो सडक यसअघि कालोपत्रे हुनुपर्ने भए पनि संरचनामा क्षति पुग्ने भएपछि पहिलेको स्थान परिवर्तन गर्नेतर्फ पहल गरिएको थियो । कुरा नमिल्दा सम्झौतामा उल्लेख भएकै स्थानबाट सडक कालेपत्रे गर्ने गरी काम अगाडि बढेको हो ।

हिउँदमा चिसोको कारण कालोपत्रे गर्न कठिन हुने र समस्या आउने देखिएपछि काम अगाडि नबढेको उनले बताए । सडकको कालोपत्रे गर्ने कार्य नभएकै कारण हिल्सामा निर्माण गरिएको पक्की पुलसमेत सञ्चालनमा आउन सकेको छैन ।

सडक कालोपत्रे गर्ने काम पूरा भएपछि पुलसमेत सुचारु हुने छ । यसअघि जिल्लाका आधा दर्जन छोटा सडकमा ढलान भए पनि कालोपत्रे गरिएको सडक भने पहिलो भएको छ । हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर सडक चीन सरकारले तीन वर्षमा स्तरोन्नति र कालोपत्रे गर्ने सम्झौता अनुसार प्राविधिक टोली हिल्सा हुँदै सिमकोटसम्म सडकको विस्तृत सर्भे गरेर फर्किसकेको छ ।