२० असार २०८३, शनिबार

नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषिलाई पर्यटनसँग जोड्नुपर्छ : महासचिव पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा भएको ‘सांस्कृतिक कूटनीति : नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज रहेको बताए । ‘विकासको जग भनेको जनताको जीवनस्तर उठाउने नै रहेछ, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन, जीवनस्तर उठाउनको लागि सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुरासँग जोडिन्छ’, उनले भने ।

महासचिव पोखरेलले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभदा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको बताए । नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए । ‘नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने कुरालाई बुझेर यसलाई कृषिसँग जोड्नु पर्दछ’, उनले भने ।

महासचिव पोखरेलले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताए । त्यो ठाउँको बारेमा बुझेका त्यहीँका मानिसहरूको सक्रियताबाट मात्र विकास सम्भव हुने उनको धारणा छ ।

‘कुनै पनि क्षेत्रका विकास गर्दछौँ भने हामीले त्यस क्षेत्रका बारेमा बताउन सक्ने जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ’, महासचिव पोखरेलले भने ।

पर्यटकहरूलाई घुम्ने र रमाउने वातावरण बनाउनको लागि पनि गम्भीर भएर लाग्नु पर्नेमा महासचिव पोखरेलले जोड दिए । उनीहरूको बसाई लम्याउन सक्दा मात्र पर्यटन र अर्थतन्त्रको विकास गर्ने सक्ने पोखरेलको भनाइ छ ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उनको धारणा छ । धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताए ।

पछिल्लो समय बुद्ध दर्शनलाई संसारले शान्तिको प्रतिकका रूपमा लिने गरेको उनले बताए । त्यसको नेपालले उपयोग गर्नसक्ने उनको धारणा छ ।

नेपालमा भविष्यका पर्यटन गन्तव्यको क्षेत्र कर्णाली बन्नसक्ने महासचिव पोखरेलको धारणा छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्ने पोखरेलले बताए ।