४ असार २०८३, बिहिबार

लम्पी स्किन नियन्त्रणको लागि प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्दै बागमती प्रदेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ साउन । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भदौ १ देखि ७ गतेसम्म प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो ।

अभियानको उद्घाटन ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।

यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले बताए ।

सबैभन्दा बढी चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइने भएको छ । खोपको आपूर्ति संघीय सरकारले गर्नेछ भने खोप लगाउने खर्च बागमती प्रदेश सरकारले व्यहोर्नेछ ।

असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण प्रदेशमा ७४ पशुचौपायाको मृत्यु भएको छ भने १ हजार ६३३ पशुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । विशेष गरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रोगको संक्रमण बढी देखिएको छ ।

यो रोग लागेपछि पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र आर्थिक वर्ष २०८०/८१ मा ४८ हजार ३६४ पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको थियो । बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।