
काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको छ । तर डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।
नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँ घटाइएको विज्ञप्तिमा उल्लेख छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मूल्यमा पेट्रोल बढेर र डिजेल र मट्टितेल घटेर आएकाले निगम सञ्चालक समितिको निर्णयबाट नयाँ सूची जारी गरेको जनाएको छ ।
अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।
यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।









प्रतिक्रिया