२६ जेष्ठ २०८३, मंगलबार

चौदण्डीगढी नगरपालिकामा नगर योजना आयोग गठन, उपाध्यक्षमा ताम्राकार नियुक्त

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, ३१ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगर योजना आयोग गठन गरेको छ । साउन २९ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा किशोर ताम्रकारलाई नियुक्त गरिएको नगरपालिकाले जनाएको छ ।

चौदण्डीगढी नगरपालिकाको समग्र विकासका लागि नगर विकाससम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवर्द्धन, अनुगमन, मूल्यांकन गर्दै दिगो विकास तथा सहस्राब्दी विकासका लक्ष्यहरू प्राप्त हुनेगरी ठोस योजना तर्जुमा तथा नगर सभा, कार्यपालिका र नगरपालिकालाई आवश्यक राय सल्लाह तथा परामर्श दिनका लागि नगर योजना आयोगको गठन गरिएको मेयर कालुमान लामाले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी नगर योजना आयोग गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए । नगर योजना आयोग निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम चौदण्डीगढी नगरपालिकाको नगर सभाले नगर योजना आयोग गठन तथा सञ्चालन ऐन, २०८२ तयार गरी पारित गरेको थियो ।

नगर योजना आयोगमा एक अध्यक्ष एक उपाध्यक्ष, विषयगत समितिका संयोजकहरू मध्येबाट ५ जना सदस्य र नगर योजना शाखाको प्रमुख सचिव हुने व्यवस्था गरिएको छ । नगर योजना आयोगको अध्यक्ष नगरप्रमुख रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष भने विषय विज्ञका रुपमा रहेका स्थानीयलाई नगरपालिकाले नियुक्त गर्न सक्ने छ ।