काठमाडौं, ३० साउन । नेपाली कांग्रेसले शसस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा फरार अभियुक्त देवेन्द्र यादवलाई दिएको सदस्यता खारेज गरेको छ ।
काँग्रेस सभापति शेरबादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मासहितले हिजो (विहीबार) पार्टी कार्यालयमै बोलाएर यादवलाई सदस्यता दिएका थिए । चौतर्फी आलोचनापछि काँग्रेसले आज ‘थाहा नभएको’ भन्दै यादवको सदस्यता खारेज गरेको हो ।
काँग्रेसले विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा संलग्न रहेको थाहा पाएपछि सदस्यता खारेज गरेको बताएको छ । कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृहप्रशासनको पनि ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।
विक हत्याका आरोपित यादव प्रहरीको सूचीमा फरार अभियुक्त हुन् । महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ ।
विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।









प्रतिक्रिया