२३ जेष्ठ २०८३, शनिबार

नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति व्यवस्थापन परियोजना शुभारम्भ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजना सुरु गरिएको छ। यो परियोजना संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुने भएको हो।

भारतको विदेश मन्त्रालयले गत साउन १६ गते नयाँ दिल्लीमा औपचारिक रूपमा प्रारम्भ गरेको उक्त परियोजना नेपालको चामल आपूर्ति प्रणालीमा सुधार ल्याउन केन्द्रित छ। यसमार्फत भारतको सफल सार्वजनिक वितरण प्रणाली (पीडीएस)को अनुभव र प्रविधि नेपालमा पनि लागु गरिनेछ । परियोजनाले विशेषगरी खरिद प्रक्रिया, तथ्यांक व्यवस्थापन, दक्ष जनशक्ति विकास, भण्डारण र वितरण मोडेल, अनुगमन प्रणाली तथा गुनासो निवारण संयन्त्र सुधारमा योगदान पुर्‍याउनेछ।

१२ महिनामा सम्पन्न हुने परियोजना तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन र सरोकारवालासँगको समन्वय, दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन तथा नेपाली अधिकारीहरूको भारत भ्रमण, र अन्तिम चरणमा दीर्घकालीन कार्ययोजना तयार गर्ने योजना छ। तालिम कार्यक्रम भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) अन्तर्गत सञ्चालन हुनेछ। सन् २००१ यता तीनहजार भन्दा बढी नेपाली अधिकारीहरूले यसै कार्यक्रममार्फत भारतमा तालिम लिइसकेका छन्।

सन् २०२३ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको ७८औं सत्रको क्रममा भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल घोषणा गरिएको थियो। यो पहल अन्तर्गत चार परियोजनामध्ये नेपालमा सुरु भएको यो परियोजना दक्षिण–दक्षिण सहकार्यमार्फत खाद्य प्रणाली सुदृढ गर्न दुवै देशको साझा प्रतिबद्धताको उदाहरण भएको राजदूतावासले जनाएको छ।