
नवलपुर, ३० साउन । मध्यबिन्दु नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत ३५ वर्षीया सशस्त्र प्रहरी जवान राजकुमार बोहोराको मृत्यु भएको हो ।
गएराति मध्यबिन्दु– ८ फुलबारी उकालोस्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट दुम्किबासतर्फ जाँदै गरेको बा प्र ०६–००१ क ०४४४ नम्बरको मिनी ट्रकले विपरीत दिशामा गुडिरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ ।
कावासोती नगरपालिका–१४ सुन्दरबस्तीका ३० वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुरमा दरबन्दी रही सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत रहेका छन् ।
मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया