२ असार २०८३, मंगलबार

ग्रेड वृद्धि परीक्षामा घटे झन्डै बिस प्रतिशत विद्यार्थी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ । यसअघि असार १३ गते प्रकाशित भएको नतिजामा अनुत्तीर्ण भएका परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार उक्त नतिजाबाट एक लाख ६७ हजार जना परीक्षामा अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका थिए ।

सोही विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागिएको हो तर परीक्षाका लागि योग्यमध्ये जम्मा एक लाख ४२ हजार ८५३ जनाले मात्रै परीक्षामा सहभागी हुन फाराम भरेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिए ।

परीक्षा फाराम भरेकामध्ये सबै जना परीक्षामा सहभागी नभएको विगतको अनुभव छ । ग्रेड वृद्धि परीक्षाका लागि बोर्डले मुलुकभर ४६९ केन्द्र तोकेको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुँदै छ । साधारण धारका विषयको परीक्षा भदौ ४ गते तथा प्राविधिक धारका भदौ ६ गते सकिने छ ।

ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण हुनेलाई यसै शैक्षिक सत्रको कक्षा ११ मा पढ्न पाउने व्यवस्था गर्न लागिएको हुनाले बोर्डले सकेसम्म ग्रेड वृद्धि परीक्षाको नतिजा पनि दसैँअघि नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ ।

८६० जनाको नतिजा परिवर्तन
असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गरेकामध्ये ८६० जनाको परीक्षाको नतिजामा परिवर्तन भएको छ ।

नतिजामा चित्त नबुझेपछि २७ हजार ३१५ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विभिन्न पाँच चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरिएको थियो । पुनर्योग दिएकामध्ये नतिजा परिवर्तन हुनेको सङ्ख्या करिब तीन प्रतिशत हुन आउँछ ।

नतिजा परिवर्तन भएपछि केही विद्यार्थीको एसइईको पुरानो प्राप्ताङ्कमा वृद्धि भई चार जिपिएसमेत पुगेको छ । एसइईको नतिजा गत असार १३ गते सार्वजनिक भएको थियो । परीक्षामा सहभागीमध्ये ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् ।