१६ असार २०८३, मंगलबार

अनिल झाले ब्यूँताए सद्भावना पार्टी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । लोकतान्त्रिक समाजवादी पार्टीबाट निस्किएका अनिलकुमार झाले आफ्नो पुरानो दल नेपाल सद्भावना पार्टी ब्युँताएका छन् । लोसपाका वरिष्ठ नेता र साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका उनको निर्णयलाई अध्यक्ष महन्थ ठाकुरले स्वीकृति दिएका थिए। त्यसको केही दिनमै झाले निर्वाचन आयोगमा निवेदन दर्ता गरी पार्टीलाई अद्यावधिक गर्न प्रक्रिया अघि बढाए।

झा विगतमा पनि नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए। पछि उनले पार्टीलाई राष्ट्रिय जनता पार्टी ९राजपा०मा गाभेका थिए, तर त्यो एकीकरण लामो समय टिक्न सकेन। त्यसपछि उनी लोसपामा सक्रिय भए पनि पछिल्ला महिनामा निष्क्रिय रहँदै आएका थिए।

“म मातृ पार्टीमा फर्किएको हुँ,” झाले भने, “निर्वाचन आयोगले मंगलबार मेरो नेतृत्वमा पार्टी अद्यावधिक गर्ने निर्णय गरिसकेको छ। पत्र लिन पार्टीका प्रतिनिधि गइसकेका छन्, बाँकी विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछौं।”

झाका अनुसार, नयाँ कार्यसमितिमा ९१ सदस्य छन् र अध्यक्ष स्वयं झा नै रहेका छन्। पार्टीको झण्डा र चिन्ह पनि पुरानै पाँच औंला देखिएको हात कायम रहेको उनले स्पष्ट पारे।

उनले थपे, “राजपामा एकीकरणपछि धेरै साथीहरू पुनः मातृ पार्टीमा फर्कनुभयो। अब हामी पुरानो भावनासहित अघि बढ्नेछौं।”