
काठमाडौं, २८ साउन । विगतमा आफ्नै देशमा विद्युत् आपूर्ति गर्न नसकेर चरम लोडसेडिङ भोग्दै आएको नेपाल अब बिजुली बेचेर राम्रो आम्दानी गर्ने मुलुकमा रूपान्तरित हुँदैछ ।
नेपालले देशमा उत्पादन भएको बिजुली देशभित्र मात्र होइन देशबाहिर भारत र बङ्गलादेशसम्म बिक्री गर्न लागेको छ । देशभित्र खपत गरी बढी भएको बिजुली भारतमा बिक्री गरेर नेपालले आम्दानी गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अहिले नेपालले भारतमा एक हजार मेगावाट बिजुली निर्यात गर्न लागेको छ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दै छौँ, यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कुनै बेला बिजुली आउँदा रमाउने देश नेपालले भारत लगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्ने क्षमता राख्नु देशमा केही हुँदै छ र अब गर्न सकिन्छ भन्ने सन्देश हो ।








प्रतिक्रिया