३० जेष्ठ २०८३, शनिबार

अहिले केपी ओलीको विकल्प खोज्ने बेला होइन : शंकर पोखरेल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २७ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।

अहिले पार्टीलाई बनाउने बेला भएको बताउँदै उनले जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ त्यही गर्नुपर्नेमा जोड दिएका हुन् । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने उनले स्पष्ट पारे ।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्दै महासचिवले संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको बताए । नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरु ओलीका विरुद्ध लागेको उनको भनाइ छ ।

पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउन नमिल्ने पार्टीले ले म राजनीतिमा आउन नमिल्ने पार्टीले निष्कर्ष निकालिसकेको बताउँदै उनले अब यस्ता बहसको विषयले पूर्व राष्ट्रपतिको गरिमा र मर्यादामा असर गर्ने र यो कुरालाई पूर्वराष्ट्रपतिले पनि बुझ्नुपर्नेमा जोड दिए ।

‘उहाँ (विद्या) भूपू भएपनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको छ । हाम्रो अभ्यासले के बताउछ हाम्रो संविधानले के भन्छ भन्ने कुरा वहाँ जतिको व्यक्तित्वले बुझ्नुपर्छ । उहाँको पार्टी सदस्यता नवीकरणको विषय बाहिर उल्याउने विषय थिएन । असार १४ गते वहाँ आफैले बाहिर ल्याउनुभयो । विधान महाधिवेशनलाई विवादित बनाउन खोजियो । तर विधान महाधिवेशनलाई नीति निर्माण, विधि निर्माणमा केन्द्रीत गर्न चाहान्छौं नेतृत्व निर्माण गर्ने विषय त राष्ट्रिय महाधिवेशनको विषय थियो,’ उनले भने ।

पार्टीमा नीतिका प्रश्नमा विधानको प्रश्नमा कुनै बहसको विषय नभएको स्पष्ट पार्दै उनले अन्य विषयहरुमा बहस हुनसक्ने बताए ।

पार्टीको दशौँ महाधिवेशन अघिको विधान महाधिवेशनमा उमेर र कार्यकालका विषय समावेश गरेको उल्लेख गर्दै महासचिव पोखरेलले तर विधान महाधिवेशनले केन्द्रीय कमिटी २ सय २५ जनाको भनेपनि महाधिवेशनले ३ सय १ बनाएको, पदाधिकारी संख्या १५ हुने भन्ने थियो तर १९ जनाको बनाएको, केन्द्रीय निकाय १५ जना भनेकोमा २५ जनाको बनाएको, सल्लाहकार परिषदमा एक तिहाइ भनिएकामा केन्द्रीय कमिटी बराबर बनाएको जानकारी दिए ।

त्यस्तै उनकाअनुसार महाधिवेशनमा पनि विधान संशोधनको प्रस्ताव पहिलो थियो । उनले भने, ‘महाधिवेशनमा अध्यक्ष ओलीलाई अध्यक्ष बनाउछौं भन्ने मानसिकता बोकेर गएका थियौं र त्यसले कानुनी जटिलता ल्याउँनसक्छ भनेर हामीले संशोधन गरेका हौं । अहिले उठेका विषयहरु महाधिवेशनबाट हटाएको विषय भएकाले यसलाई उछाल्नु राम्रो होइन,’ । ७० वर्ष उमेरको हदको विषय अध्यक्ष ओली जोडेर प्रचार गर्नु गलत भएको उनको भनाइ छ । यस विषयमा एकिकृत समाजवादीबाट मुकुन्द न्यौपानेलाई पार्टीमा प्रवेश गराइसकेपछि विषय टुंगिएको उनले स्पष्ट पारे ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम प्रदेशभरीबाट केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्जहरु, जिल्लाका अध्यक्षहरु सहभागी रहेका छन् । बैठक बुधबारसम्म चल्ने एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी दिए । बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने सुझावहरु संकलन गर्ने छ । एमालेभीत्र उत्पन्न बहसका सन्दर्भमा समेत सबैलाई आफ्ना धारणा राख्नदिने गरी बैठक दुईदिन गरिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।