काठमाडौं, २६ साउन । गुन्डागर्दीको आरोपमा पक्राउ परेका मिलन गुरुङ ‘चक्रे मिलन’ले प्रहरीसमक्ष जन्मदिनको केक काट्दै गर्दा पक्राउ गरिएकोमा दुखेसो पोखेका छन्।
साउन १६ गते आफ्नो जन्मदिन मनाउने क्रममा हो-हल्ला र सडक जाम हुने गरी स्कर्टिङ गरेको आरोपमा चक्रेसहित ४७ जनालाई काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये १९ जनामाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ। पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएको प्रहरीले दोस्रोपटक तीन दिनको म्याद थपेको थियो, जुन आज सकिँदै छ। भोलि (मंगलबार) तेस्रोपटक म्याद थपका लागि अदालतमा पेश गरिने काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए।
बयानका क्रममा चक्रेले भने, “धेरै हल्लाखल्ला भएको त थिएन, तर अलिकति ढिलो भएको हो। हामी म्यानेज गर्दै थियौँ, तर तपाईंहरूले उठाइहाल्नुभो, राम्रोसित केक पनि खान पाएनौँ।”
प्रहरीका अनुसार उनीहरूलाई राति १२ बजेपछि पक्राउ गरिएको थियो। चक्रेबारे जिल्ला प्रहरी परिसर भक्तपुरमा समेत उजुरी परेको छ र त्यहाँको प्रहरीले पनि उनको बयान लिएको छ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दिएको बयानमा उनले भक्तपुरको रेस्टुरेन्टमा भएको घटनामा संलग्नता अस्वीकार गरेका छन्।








प्रतिक्रिया