काठमाडौं, २६ साउन । महालक्ष्मी विकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाबाट बैंकको ठुलो रकम अपचलन गरी अनलाइन जुवामा प्रयोग भएको सनसनीपूर्ण खुलासा भएको छ। चार जना शाखा कर्मचारी पक्राउ परेका छन्, तर घटना केवल शाखास्तरीय गल्ती मात्र नभई बैंकको केन्द्रीय कार्यालयको लापरबाही र निगरानी प्रणालीको विफलताको परिणाम भएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार, पक्राउ परेका कर्मचारीहरूमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। उनीहरूलाई बैंककै उजुरीको आधारमा साउन २४ गते पक्राउ गरी बैंकिङ कसुर मुद्दा दर्ता गरिएको हो। अदालतले हाल उनीहरूलाई सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
मिलेमतोमा करोडौंको हिनामिना, हेड अफिस चुप ?
अनुसन्धानका प्रारम्भिक नतिजा अनुसार, चारै जनाले मिलेमतो गरी २ करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ हिनामिना गरेका थिए। उनीहरूले बैंकको भल्टमा मौज्दात रकम देखाउँदै मूल खातामा अनियमित कारोबार गरेका थिए। यस्तो अनियमितता महिनौँसम्म जारी रहँदा पनि केन्द्रीय कार्यालयको अडिट र अनुगमन विभागले कुनै चेतावनी वा कारबाही नगर्नु व्यवस्थापकीय बेवास्ताको ठोस प्रमाण मानिएको छ।
वित्तीय विश्लेषकहरु भन्छन् –
“बैंकमा दैनिक र मासिक अडिट प्रणाली हुन्छ, तर यस्तो ठूलो रकम अपचलन हुँदा पनि हेड अफिसलाई थाहा नहुने कुरा अचम्मको मात्र होइन, शंकास्पद हो।”
घटना लुकाउन ढिलासुस्ती?
स्रोतका अनुसार, रकम अपचलन भएको थाहा पाएर पनि केन्द्रीय कार्यालयले तत्काल सार्वजनिक नगरी भित्रभित्रै मिलाउन खोजेको थियो। तर रकम फिर्ता हुने सम्भावना नगण्य भएपछि मात्र जाहेरी दिएर प्रहरीको सहयोग लिइएको बुझिन्छ।
पैसा अनलाइन जुवामा
प्रहरी अनुसन्धानले देखाएको छ कि हिनामिनाबाट निकालिएको रकम अनलाइन जुवामा प्रयोग भएको छ। यद्यपि, कुन प्लेटफर्म वा कुन खातामार्फत रकम बाहिरियो भन्ने विवरण अझै अनुसन्धानमै छ।
ग्राहकको विश्वासमा आघात
यस घटनाले महालक्ष्मी विकास बैंकप्रतिको ग्राहक विश्वासमा ठूलो आघात पुर्याएको छ। स्थानीय ग्राहकहरूमध्ये केहीले आफ्नो निक्षेप फिर्ता लिने तयारी गरिरहेका छन्। गोकुलेश्वरका एक स्थानीय ग्राहकले भने, “हामीले पैसा सुरक्षाका लागि बैंकमा राखेका थियौं, तर बैंक आफैं असुरक्षित रहेछ।”
बैंकको आधिकारिक वक्तव्यमा मात्र शाखा कर्मचारीको गल्तीलाई कारण देखाइएको छ। हेमराज जोशीलाई नयाँ शाखा प्रबन्धक बनाएर शाखा सञ्चालन भइरहेको बताइएको छ। तर सिइओ दिपेश लम्सालसहित शीर्ष व्यवस्थापनको जिम्मेवारीबारे मौनता देखिएको छ।
वित्तीय क्षेत्रका विज्ञहरूका अनुसार, यो घटना केवल कर्मचारीको मिलेमतो नभई बैंकको आन्तरिक नियन्त्रण, अडिट प्रणाली र हेड अफिसको जिम्मेवारीको ठूला कमजोरीको परिणाम हो। उनीहरूको भनाइमा, पारदर्शिता र नियमित स्वतन्त्र अडिट प्रणाली नअपनाएसम्म यस्तो घटना रोक्न सकिन्न ।
यो पनि : महालक्ष्मी विकास बैंकमा करोडौं हिनामिना, सीईओ लम्सालको नियतमाथि प्रश्न
https://www.dainiknepal.com/2025/08/764945.html









प्रतिक्रिया