
काठमाडौं, २६ साउन । महालक्ष्मी विकास बैंकका चार कर्मचारीले मिलेमतोमा बचतकर्ताको पैसा अनलाइन जुवामा लगानी गरेको घटना सार्वजनिक भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश लम्सालको नियतमाथि समेत प्रश्न उठेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित शाखाबाट दुई करोड ८४ लाख ७६ हजार ७०० रुपैयाँ अनलाइन जुवा साइट ‘वन एक्स बेट’मा लगानी गरिएको बैंकको आन्तरिक अनुगमन टोलीले पत्ता लगाएको हो । यो रकम बैंकको मूल खातामा मौज्दात देखाएर अपचलन गरिएको खुलेको छ ।
पक्राउ परेकामा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले म्याद थप गर्दै अनुसन्धान अघि बढाइरहेको छ । तर, बैंकका लगानीकर्ताहरूले प्रश्न उठाएका छन्– “यति ठूलो रकम लामो समयसम्म अपचलन हुँदा केन्द्रीय कार्यालय र सीईओलाई थाहा नहुनु कसरी सम्भव भयो ?” दैनिक नेपालको सम्पर्कमा आएका एक जना लगानीकर्ताका अनुसार, यस्तो घटना केवल शाखास्तरको कमजोरी मात्र नभई उच्च व्यवस्थापनको नियमन क्षमतामाथि गम्भीर शंका उत्पन्न गराउने खालको हो । हिनामिनामा सीईओ लम्सालसहित उच्च व्यस्थापनको समेत मिलेमतोको शंका गरिएको छ ।
उनका अनुसार, बैंकको आन्तरिक नियन्त्रण प्रणाली, दैनिक वित्तीय अनुगमन र जोखिम व्यवस्थापन प्रणालीको कमजोरीका कारण मात्र यस्तो घटना सम्भव हुन्छ । “सीईओको नेतृत्वमा हुने नीति र अनुगमन प्रभावकारी भएको भए दुई करोडभन्दा बढीको रकम अनलाइन जुवामा जान असम्भव थियो” उनले बताए ।
यस घटनाले वित्तीय संस्थामाथि आम नागरिकको भरोसा मात्र कमजोर भएको छैन, नियामक निकाय नेपाल राष्ट्र बैंकको निगरानी भूमिकामाथि पनि प्रश्न खडा भएको छ । सिईओ लम्सालले राष्ट्र बैंकमा आफ्नो राम्रो “कनेक्सन”भएको भन्दै केही फरक नपर्ने बताउँदै आएका छन् । उनको व्यवस्थापकीय क्षमतामाथि समेत यसले प्रश्न उठाएको छ ।
यो बारे प्रतिक्रिया लिन खोज्दा सीईओ लम्सालको फोन उठेन ।








प्रतिक्रिया