– कृष्ण पौडेल
कपिलवस्तु, २५ साउन । वर्षौँदेखि आफ्नै जग्गामा बसोबास गर्दै आए पनि कानूनी स्वामित्व पाउन नसकेका विजयनगर गाउँपालिका–१ जबाबैराठका २१ थारु समुदायका परिवार शनिबार ऐतिहासिक क्षणको साक्षी बने। पहिलो पटक उनीहरूको हातमा लालपुर्जा पुगेपछि गाउँभर उत्साह र खुशीको माहोल छायो।
भूमिहीन सुकुम्बासीलाई लालपुर्जा हस्तान्तरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं उपस्थित भएका थिए । उनले कपिलवस्तुमा नापी सम्पन्न भएको एक महिनाभित्रै विजयनगरका २१ तथा बाणगंगा–७ मोतिपुरडाँडाका २८ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण भएको जानकारी दिएका छन् ।
मन्त्री अधिकारीका अनुसार यस वर्षको बजेटमार्फत देशभरका पाँच लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य छ। हाल करिब १५ लाख भूमिहीन सुकुम्बासी र भूमिसम्बन्धी समस्या भएका परिवारलाई प्रमाणपत्र दिने तयारी भइरहेको पनि उनले बताए। मन्त्री अधिकारीले कानुन निर्माणबारे फैलाइएका हल्ला निराधार भएको भन्दै उनले वन मास्ने, सार्वजनिक जग्गा माफियालाई दिने वा पैसाको चलखेल भएको जस्ता अफवाहमा नपर्न आग्रह गरे।
विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार नापी सम्पन्न भएका क्षेत्रमा छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्ने अभियान अघि बढाइएको छ। जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापी सम्पन्न भई आवश्यक दाबी–विरोध र राजस्व दाखिला प्रक्रिया पूरा भएपछि वितरण सम्भव भएको थापाले बताए ।
लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी,नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारीलगायतको उपस्थिति थियो।
भण्डारीका अनुसार आइतबार मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई पनि लालपुर्जा वितरणको तयारी भइरहेको छ। वितरण गरिएका लालपुर्जा करिब दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछ।








प्रतिक्रिया