
–अन्जनी कुमार अधिकारी
उदयपुर, २४ साउन । उदयपुरमा नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । आज जनै पूर्णिमासँगै जिल्लाका नेवार समुदायको बाहुल्य भएका पालिकाहरुमा जात्रा सुरु भएको छ । यो जात्रा भदौ १ गते कृष्ण जन्माष्टमीका दिनसम्म मनाइने नेवा देय दवूः चौदण्डीगढी नगरपालिकाका अध्यक्ष रमेश प्रधानले जानकारी दिए ।
त्यस्तै, नेवार समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले झीगु नेवाः पुचः, मिसा पुचः र अन्य उपसमितिहरूको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम गाईघाट लगायतका पालिकाहरुमा समेत आजबाट लाखे जात्रा सुरु भएको झीगु नेवाः पुचः का जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिए ।
जिल्लाको विभिन्न स्थानमा रहेका भीमसेन मन्दिरहरुमा बिहानै पूजाआजा गरी विधिवत रूपमा लाखे जात्रा सुरु गरिएको श्रेष्ठले बताए । भीमसेन मन्दिरमा विधिवत पूजा गरी लाखेमा प्रयोग हुने ढोल, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको पूजा गरी जात्रा सुरु गरिएको हो ।
द्वापर युगमा भगवान श्रीकृष्ण र मामा कंशबीचको लडाईंको सम्झनासहित विभिन्न गतिविधि गर्दै नेवार समुदायको बसोबास भएको क्षेत्रमा लाखे जात्रा घुमाउने चलन रहेको किशोर ताम्राकारले बताए ।
जनै पूर्णिमासँगै सुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमीका दिन रथ यात्रासहित नगर परिक्रमासँगै समापन गरिने बताइएको छ । सदरमुकाम गाईघाटमा भने साउन ३१ गते नगर भित्रका सबै लाखेहरुको जम्मा गरी बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत आयोजक झीगु नेवाः पुचःले जनाएको छ ।








प्रतिक्रिया