
काठमाडौं, २३ साउन । ‘रिडिफाइनिङ सक्सेस’भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चारदिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलस्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।
आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले शुभारम्भ गरेको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।
सम्मेलनमा सहभागि भएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गरे । उनले विभिन्न वित्तिय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।
सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बीच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।















प्रतिक्रिया