
–अन्जनी कुमार अधिकारी
उदयपुर, १९ साउन । जिल्ला प्रशासन कार्यालय उदयपुरले औषधि पसल तथा मेडिकलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित एक मेडिकलमा ताला लगाइएको छ ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधि पसल तथा मेडिकलमा अनुगमन गरेको हो ।
अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि, दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।
अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका–४ बसाहामा महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत सञ्चालन गरेको बीज मेडिकलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार, बसाहा लगायतका क्षेत्रमा सञ्चालित मेडिकल क्लिनिकमा छड्के अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधिहरु अनुगमन टोलीले जफत गरेको छ । यहाँ सञ्चालित धेरै मेडिकल मापदण्डविपरीत सञ्चालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा मेडिकल अनुगमन थालिएको हो । उनले जिल्ला भित्रका सबै मेडिकलहरुमा अनुगमन गरिने समेत बताए ।
अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालित धेरै मेडिकल क्लिनिकलाई तत्काल मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव समेत दिएको छ ।








प्रतिक्रिया