२३ जेष्ठ २०८३, शनिबार

कर्णालीमा छ वर्षमा एक हजार छ सय महिला पीडित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, १६ साउन । कर्णाली प्रदेशमा छ वर्षको अवधिमा झन्डै एक हजार छ सय महिला पीडित भएको पाइएको छ । सन् २०२० देखि २०२५ सम्मको अवधिमा भएका दुई हजार ६६६ घटनामा एक हजार ५७२ जना महिला पीडित भएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ ।

कर्णालीमा महिला अधिकार उल्लङ्घनका घटना बढ्न थालेको इन्सेकले जनाएको छ । इन्सेकले आयोजना गरेको कार्यक्रममा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सन् २०२० मा २१७ जना, सन् २०२१ मा १९९ जना, सन् २०२२ मा २१२ जना, सन् २०२३ मा २७३ जना, सन् २०२४ मा ४१५ जना र सन् २०२५ को सात महिनाको अवधिमा २५६ जना गरी एक हजार ५७२ जना महिला विभिन्न घटनाको हिंसामा परी पीडित भएको पाइएको बताए ।

प्रतिशतमा हेर्ने हो भने कर्णालीमा महिला हिंसा उल्लङ्घनका घटना ५९ प्रतिशत रहेको छ । महिला अधिकार उल्लङ्घनमा यस अवधिमा ८६ जना महिलाको हत्या भएको छ भने १९ जना महिला बेचबिखनमा परेका छन् । कर्णालीमा घरेलु हिंसा, यौन दुव्र्यवहार, धम्की जस्ता घटना बढी हुने गरेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । इन्सेक कर्णाली प्रदेश संयोजक सुवेदीले घटनामा महिला पीडित हुने गरेका छन् भने पुरुष हिरासतमा जाने गरेको पाइएको बताउनुभयो ।

उनले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि पर्याप्त कानुनी व्यवस्था हुनुका साथै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, स्वतन्त्र न्यायपालिकाको अस्मिता जोगाउँदै अदालती आदेश कार्यान्वयन गर्न÷गराउन सरकार जवाफदेही बनाउनुपर्ने बताए ।