
सुर्खेत, १६ साउन । वीरेन्द्रनगरको सुरक्षा संवेदनीशलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडान गरिने भएको छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच बुधबार सम्झौता गरिएको छ ।
नगरपालिकाका विभिन्न स्थानहरुमा तीन सय पचास क्यामरा जडान गरिनेछ । सम्झौता अनुसार पहिलो चरण ६ महिनाभित्र एक सय क्यामेरा जडान गरिनेछ, २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नुपर्ने छ । सीसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरी सम्झौता भएको छ । वीरेन्द्रनगरका विभिन्न वडाहरु, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सीसीटीभी क्यामेराले समेट्नेछ ।
क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि नगरपालिकाले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ ।
टेलिकमले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउने छ भने जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा जिल्ला प्रहरी कार्यालयको हुने सम्झौतामा उल्लेख छ ।
वीरेन्द्रनगरका १ देखि १४ नम्बर वडाका विभिन्न स्थानका बढी जनघनत्व हुने स्थानहरु, पर्यटकीय स्थल र अन्य सार्वजनिक स्थलहरुमा तीन सय ५० वटा क्यामेरा जडान गरिनेछ । पहिलो चरणमा जडान गरिने एक सय क्यामेराका लागि ११ लाख ६९ हजार पाँच सय रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ । यो रकम नगरपालिकाले ब्यहोर्नेछ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्ने छ ।
वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्याका थपिएका चुनौती, लागूऔषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन् ।
‘वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गर्न लागिएको हो’ उनले भनिन्, ‘प्रहरीलाई अपराध नियन्त्रणमा पनि यसले सहयोग पुर्याउने छ ।’
सीसीटिभि जडानले सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि मद्दत गर्ने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए ।
सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती नियन्त्रणका लागि सीसीटिभि जडानले सहयोग पुर्याउने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।








प्रतिक्रिया