६ श्रावण २०८३, बुधबार

विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ७ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन् ।

रामेछाप नगरपालिका–८, भंगरीमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई प्रमुख दलबीचको सहकार्यबाट मुलुकले एक वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन् ।

जस्तोसुकै हल्ला भएपनि दुई वर्षसम्म एमाले–कांग्रेसको सहकार्य यथावत रहने उनको दाबी छ । कार्यक्रम एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापनमा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजना गरिएको थियो ।

भट्टराईले एमाले अहिले विधान महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई विधानमाथि गम्भीर छलफलमा सहभागी हुन आग्रह गरे । पार्टी सुदृढीकरणका लागि विधानको बहसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणाउनले व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः प्रवेशबारे पार्टीको केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरिसकेको जानकारी दिँदै भट्टराईले भण्डारीको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयास विफल भएको दाबी गरेका छन् । एमाले बिग्रियोस् भन्ने तत्वहरूलाई पार्टी निर्णयले असफल बनाएको उनले बताए ।

भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुनःदलगत सक्रिय राजनीतिमा फर्किँदा संवेदनशीलता पैदा हुने हुँदा त्यसलाई उपयुक्त मान्न नसकिने स्पष्ट पारेका छन् ।