
काठमाडौं, ७ साउन । सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सारथी केवल इन्डष्ट्रीजले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस आईपीओमार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन् ।
आईपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक भूमिगत केवल उत्पादन सुरु गर्ने तयारी गरेको छ । त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी एल्युमिनियम फर्नेन्स प्लान्ट जडान गर्ने लक्ष्य लिएको छ । यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ । यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ ।
सारथी केवल इन्डष्ट्रीज विगत १८ वर्षदेखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो । कम्पनीले मुख्यतः मल्टि–स्ट्रान्ड केवल, पावर केवल, कन्सेन्ट्रिक केवल र एसीएसआर कन्डक्टर उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छ ।









प्रतिक्रिया