
काठमाडौं, ६ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवर्द्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।
स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।
नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय सरकारसँग पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेपछि सत्याग्रहदेखि भोक हडतालसम्मका कार्यक्रम लिएर उनी काठमाडौं आएका हुन् ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्दै प्रयोग कम गर्ने काम गरिरहेको र त्यसकालागि नगरपालिकामा प्रशस्त रुपमा पाइने वनस्पति बाँस विकल्पको रुपमा उपयोग हुनसक्ने नगरको योजनामा संघ र प्रदेश सरकारले वेवास्ता गरेको उनको बुझाइ छ ।
५२ वटा देशले बनाएका चित्रहरु सुरक्षित राखेको बताएका भट्टराईले आफूहरुले पहिलो पटक बाँस सम्मेलन गरेर यसको प्रवद्र्धनमा काम गरिरहेको सुनाए ।
उनले सत्याग्रहको आवश्यकता भनेको जलवायु परिर्वतनका असरलाई न्यूनीकरणका लागि प्लाष्टिकजन्य सामान कम प्रयोग गर्ने र बाँसका सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने रहेको बताए । तर बाँस प्रवद्र्धनमा प्रशस्त कानुनी र नीतिगत समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्नका लागि दबाब दिन आफू भोक हडतालको कार्यक्रम लिएर काठमाडौं आएको बताए ।
उनले बारम्बार सूचना दिँदा पनि सरकारको तर्फबाट सुनुवाई नभएको हुँदा सत्याग्रहमा जान बाध्य भएको बताएका हुन् ।








प्रतिक्रिया