
– कृष्ण पौडेल
कपिलवस्तु, ६ साउन । कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवराज आधारभूत अस्पताल फेरि विवादमा तानिएको छ।
असार ४ गते भएको सडक दुर्घटनापछि पोस्टमार्टमका लागि अस्पतालमा भर्ना गरिएकी एक महिलाको कानको सुनको मुन्द्रा हराएको घटना सार्वजनिक भएपछि यसले स्थानीय तहमा नैतिकता, पारदर्शिता र जवाफदेहिता माथि गम्भीर प्रश्न उठाएको हो ।
असार ४ गते बिहान ७ः५५ बजे शिवराज नगरपालिका–६ मा रहेको भूगर्भ सिमेन्ट उद्योग जाने बाटोमा बागमती प्रदेश ०२०३१ च ५७७६ नम्बरको बोलेरो जिपले साइकलमा गइरहेकी एक महिलालाई ठक्कर दिएको थियो । घाइते महिलालाई स्थानीयले तुरुन्तै चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगे पनि अवस्था गम्भीर भएपछि उनलाई शिवराज आधारभूत अस्पताल लगियो ।
अस्पतालका डा. अमित पाण्डेले दिउँसो १२ बजे महिलालाई मृत घोषित गरे। केही समयपछि मृतक स्थायी ठेगाना बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौर भई हाल शिवराज–३ मदवामा बस्दै आएकी, भूगर्भ सिमेन्ट उद्योगकी कर्मचारी ५५ वर्षीया डम्बर कुमारी बलामी रहेको खुल्यो । मृतकको शव अस्पतालको शवगृहमा राखेर दिउँसो १ बजे प्रहरीको उपस्थितिमा मुचुल्का उठाइएको थियो ।
मुचुल्का अनुसार, मृतकको कानमा सुनको मुन्द्रा रहेको थियो, जसको फोटोसमेत खिचिएको थियो। तर, अपराह्न ४ बजे शव परिवारलाई बुझाउँदा कानमा कुनै गहना थिएन। मृतककी बहिनी हिमा कुमारी बलामीले जब यो देखिन्, तत्कालै अस्पताल प्रशासनसँग जवाफ मागिन् तर प्रशासन मौन रह्यो। पोस्टमार्टममा संलग्न डा। अमित पाण्डे र कार्यालय सहयोगी सिराज अहमद दर्जी दुवैले सुन आफूसँग नभएको बयान दिए। तर, साउन १ गते सिराज दर्जी आफैंले हिमा कुमारीलाई भेटी रकम तिर्ने प्रस्ताव राखे। हिमाले १ लाख ४३ हजार बराबरको खर्च विवरण पेश गरेकी थिइन् । तर अन्ततः २ लाख रुपैयाँमा सहमति भयो। साउन ५ गते सिराजले नगदमा रकम बुझाएर पुरानो चेक फिर्ता लिए, जसले यो प्रकरण झन् रहस्यमय बनायो।
घटना भएको झण्डै एक महिना बितिसक्दा पनि नगरप्रमुख अजय थापा मौन थिए। तर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि उनले गलत र अविश्वसनीय कार्यमा संलग्न जो कोही भए पनि कानुनी कारबाही गर्ने बताएका छन् । उनले संलग्न कर्मचारीलाई कारबाही भइरहेको बताए । यद्यपि, उनले कसलाई कारबाही गरिएको हो भन्ने कुरा खुलाएका छैनन् । डाक्टर र सहयोगी दुबैजना पोस्टमार्टममा उपस्थित भए पनि कसको संलग्नता पुष्टि भएको हो भन्ने अन्योल कायमै छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले मृतककी बहिनी हिमा कुमारीको निवेदनका आधारमा घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ । यसबीचमा नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय वासिन्दाहरूले पोस्टमार्टममा प्रत्यक्ष संलग्न दुबै कर्मचारीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरिरहेका छन्।









प्रतिक्रिया