
– कृष्ण पौडेल
कपिलवस्तु, ४ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ अन्तर्गत जोरमहुवा सामुदायिक वन क्षेत्रको गंगटे खोलानजिक शनिबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार शव सडेको अवस्थामा फेला परेको हो। शव कुहिएको तथा सडेगलेको अवस्थामा रहेकाले मृतकको पहिचान गर्न कठिनाइ भएको उनले जानकारी दिए।
शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ, चन्दले भने, पहिचान खुल्न बाँकी भएकाले कपडाका टुक्रा र हड्डी परीक्षणमार्फत पहिचानको प्रक्रिया अघि बढाइनेछ।
प्रहरीका अनुसार दिउँसो करिब २ बजेतिर च्याउ खोज्न गएका स्थानीयवासीहरूले गंगटे खोला छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शव वरपर कुनै परिचय खुल्ने कागजात वा वस्तु फेला नपरेको जनाएको छ।
हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिएका छन्।








प्रतिक्रिया