३१ जेष्ठ २०८३, आइतबार

भोजपुर घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइँदै

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २३ असार । शनिबार राति भोजपरको रामप्रसादराई– २ धोद्नेखानीमा हत्या गरिएका चार जनाको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने भएको छ ।

घटनास्थलबाट आइतबार भोजपुर जिल्ला अस्पताल ल्याइएको शवलाई ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि धरान पठाउन लागिएको हो । सामूहिक हत्याको घटना भएकाले अनुसन्धानको लागि फरेन्सिक जाँच रिपोर्ट आवश्यक पर्ने भएकाले सोमबार बिहान धरान पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए ।

भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । चार जनाको हत्यापछि अभियुक्तले नै घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।

हत्यामा संलग्न राई घाइते रहेकाले थप उपचारका लागि धरान रेफर गरिएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चार छोरा र दुई छोरी रहेका गिरी दम्पत्तिका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका थिए । घरमा रहेका चारै जनाको हत्या भएको हो ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले सहयोगका लागि अपिल गरेको छ ।