२१ असार २०८३, आइतबार

पसल बन्द गरेर उदयपुरका सुनचाँदी व्यवसायी आन्दोलनमा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २० असार । उदयपुर जिल्लामा गत असार १३ गतेदेखि अनिश्चितकालिन पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । गत जेठ १५ गते सरकारले जारी गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हीरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

बिहीबार व्यवसायीहरुले जिल्लाको मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी रामपुर लगायतका क्षेत्रहरुमा विभिन्न नारासहितका प्ले कार्डसहित बजार परिक्रमा गरेर कोणसभा गर्दै राज्यले करमाथि कर लगाएको भन्दै तत्काल विलासिता कर र मूल्य अभिवृद्धि कर फिर्ता गर्न माग गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाइलीले सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर तथा हीरामा १३ प्रतिशत भ्याट आफूहरुको सुनचाँदी व्यवसाय सङ्कटमा परेको बताए । अध्यक्ष रसाइलीले तत्काल राज्यले कर खारेज गरेर आफूहरुको माग सम्बोधन गर्नुपर्ने समेत बताए । अन्यथा आफुहरु देशभर अनिश्चितकालिन सुनचाँदी पसल बन्द गरेर बस्ने समेत बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ उदयपुरका अध्यक्ष काशिनाथ शाहले राज्यले सुन तथा सुनका गहनामा प्रयोग हुने पत्थर र हीरामा लगाएको करका कारण नेपालमाभन्दा सुन, पत्थर र चाँदीको मूल्य छिमेकी मुलुक भारतमा अत्याधिक सस्तो हुन गएको भन्दै नेपाल भारत बीच खुल्ला सिमानाका कारण नेपाली ग्राहकले सस्तोमा सुनचाँदी भारतबाट ल्याउन सक्ने बताउदै यसले पनि आफूहरुको व्यवसाय संकटमा पर्ने प्रष्ट भएको बताए ।

उदयपुरमा गत असार १३ गतेदिेख सुनचाँदी व्यवसायी र व्यवसायमा काम गर्ने श्रमिकहरु व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएपछि अहिले उदयपुरमा सुनचाँदीको कारोबार पूर्णरुपमा रोकिएको छ ।

उदयपुरमा २ सय सुनचाँदी व्यवसायी र त्यस व्यवसायमा काम गर्ने ५ सय श्रमिक रहेका छन् । आन्दोलनका कारण ५ सय श्रमिक र उनका परिवारमा समेत प्रत्यक्ष असर परेको छ ।