१४ असार २०८३, आइतबार

इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । इँटाभट्टाको खलामा काम गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले कक्षा ११,१२ सँगै एमबीबीएससम्म पढाइदिने भएका छन् ।

गोमालाई बिहीबार भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने बाचासहित एक लाख रूपैयाँ नगद र एउटा ल्यापटप उपहार दिएर सम्मान गरे ।

बिहान बेलुका इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमाले डाक्टर बन्ने चाहना राख्दै कमजोर आर्थिक अवस्थाबारे बताएपछि गुरुङ दम्पती सहयोगका लागि तयार भएका हुन् ।

गोमाले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी थिइन् । ‘असल डाक्टर बनेर जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो लक्ष्य हो,’ गोमाले भनेकी थिइन् । गोमाको सोही लक्ष्यलाई साथ दिँदै गुरुङले एमबीबीएससम्म पढाइदिने भएका हुन् । गुरुङले यसअघि पनि धेरै विद्यार्थीलाई एमबीबीएस पढ्न सघाउँदै आएका छन् ।

इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।

गोमाले चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम गर्दै आएकी थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमाले एसईईमा ४ जीपीए ल्याएपछि चर्चामा आएकी थिइन् ।