२५ जेष्ठ २०८३, सोमबार

चौदण्डीगढी : धम्की दिएको पुष्टि गर्न मेयर लामाको सचिवालयको चुनौती

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १३ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकाका स्थानीय पत्रकार राजेन्द्र दुष्टलाई नगरप्रमुख कालुमान लामाले दिएको धम्की पुष्टि गर्न नगरप्रमुखको सचिवालयले चुनौती दिएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै नगरप्रमुख लामाको सचिवालयले ‘मेयर लामाद्वारा पत्रकार राजेन्द्र दुष्टलाई धम्की दिएको भनी विभिन्न स्थानीय सञ्चारमाध्यममा प्रकाशन भएको समाचारको खण्डन गर्दै धम्की दिएको पुष्टि गर्न चुनौती दिएको हो ।

नगरप्रमुख लामाको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन पत्रकार साथीले मिथ्या आरोप लगाएर चौदण्डीगढी नगरप्रमुखको चरित्र हत्या गर्ने कोशिस गर्नु भएको छ उहाँलाई हामी स–प्रमाण पेश हुन चुनौती दिन चाहान्छौँ । यस्तो कपोकल्पित झुठ र भ्रामक समाचार सम्प्रेषणले सही सूचनाबाट सू–सूचित हुने चौण्डीगढीका आम समुदायलाई दिगभ्रमित गराएको र पत्रकारको सामान्य धर्म समेत कायम नगरेको हुदाँ यसले सम्पूर्ण पत्रकारहरुको शिर निचो पार्ने कार्य भएकोले यस विषयमा पत्रकार महासंघको ध्यानाकार्षण रहोस् भन्ने चाहान्छौँ ।’

राजेन्द्रकुमार राई वास्ताविक नाम गरेका पत्रकार दुष्ट चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट गढीखबर दैनिक र गढीखबर अनलाइनका सञ्चालक र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर (कोशी) प्रदेशका समेत इञ्चार्ज हुन ।

गएको बुधबार पत्रकार दुष्टले आफ्नै अनलाइन गढीखबरमा ‘मेयर लामाद्वारा पत्रकार राजेन्द्र दुष्टलाई धम्की’ भन्ने शीर्षमा समाचार प्रकाशन गरेका थिए ।

त्यस समाचारमा भनिएको थियो, ‘नगरपालिकाको गत ९ गतेको १८औं नगरसभामा मलाई बोलाइएको थिएन । म गइनँ, र समाचार पनि बनाइनँ, कुनै जानकारी नभइ कसरी समाचार बनाउनू ? तर, त्यही विषयलाई लिएर आइन्दा नगरपालिका कार्यालय भित्र त के गेटमासमेत नटेक्न नदिइने भन्दै धक्की दिएका छन् ।’ त्यसपछि मेयर लामाद्वारा पत्रकारलाई धम्की भन्ने शीर्षका समाचार विभिन्न अनलाइन पोर्टलहरुबाट प्रकाशित भएका थिए ।

त्यसपछि नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चौदण्डीगढी नगरपालिका प्रेस स्वतन्त्रताको विषयमा प्रतिवद्ध रहेको छ । चौदण्डीगढी नगरपालिकाको नगरप्रमुखले समाचार प्रकाशन गरेको भरमा कुनै पक्षलाई हेला–होचो वा कुनै व्यक्तिलाई अप्रिय शब्द बोल्नु भएको छैन । केही पत्रकार साथीहरुले मिशन पत्रकारिता गर्दै गतल मनाशाय राख्दै नगरप्रमुखको जनप्रिय कार्यले यस नगरका आम जनसमुदायमा पर्दै गएको सकरात्मक प्रभावलाई विषयान्तर गर्न प्रयोजित रुपमा समाचार प्रकाशन गर्दै चौदण्डीगढी नगरप्रमुख माथि हिलो छाप्ने कार्यको घोर भत्र्सना गर्दछौँ ।’

यता नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेलले पत्रकार दुष्ट नगरप्रमुख लामाको समाचार लेखेकै कारण धम्कीको शिकार बनेर पीडित भएको भन्दै आधिकारीक लिखित वा मौखिक निवेदन लिएर नआएको जानकारी दिए । उनले भने, ‘हामीले समाजिक सञ्जालमा मात्र हेरेका छौँ । घटना चिया पसलमा घटेको सुनेका छौँ । तर, समाचार लेखेको कारण भन्ने छैन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुर पत्रकारको हकहितप्रति कानुन र संविधान अनुसार प्रतिवद्ध छ । हामी अहिले उक्त घटनाको अध्ययनमा छौँ ।’

उनले आज (शुक्रबार) चौदण्डीगढी नगरपालिकाका नगरप्रमुखको सचिवालयले पनि पत्रकार दुष्ट र अन्य अनलाइनमा आएका समाचार खण्डन गरेको विज्ञप्ति पनि आएको भन्दै घटनाको अनुसन्धान गर्नुपर्ने देखिएको बताए ।

यता पत्रकार दुष्टले मेयर लामाविरुद्ध इलाका प्रहरी कार्यालय बेल्टारमा अभद्र व्यवहारसम्बन्धी कसुर अपराधमा’ जाहेरी दिएको बताए । राईको जाहेरीमा भनिएको छ, ‘आफ्नो पद मर्यादाको घमण्ड गरी सार्वजनिक स्थानमा जिउज्यान मार्ने धाकधम्की र विभिन्न गालीगौज समेत गरेको र म एउटा स्वच्छ स्वतन्त्र र निष्पक्ष रुपले पत्रकारिता गर्ने व्यक्तिलाई शारिरिक र मानसिक तनावमा पारी दुखकष्ट दिई अन्यायमा पारेकोले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा ११८ अनुसार शसक्त कारवाही गराइ पाउँ ।’

यता ९ असारमा चौदण्डीगढीको नगरसभाको दिननै पत्रकार दुष्टले फेसबुकमा ‘बेलका नगरपालिकाको नगरसभाको लाइभ आइराछ, हाम्रो चौदण्डीगढीका चै झोले नै हुन् ? चालचुल केही छैन त ! ओ झोले पत्रुकार हो ?’ भन्ने स्टाटस लेखेको थिए । त्यसपछि विवाद सतहमा आएको थियो ।

चौदण्डीगढी नगरपालिका–२ माडिवासका स्थानीय बासिन्दा दुष्ट प्रेस युनियनबाट केही समय अघि प्रेस सेन्टर प्रवेश गरेका थिए । तर, अराजक गतिविधिको कारण प्रेस सेन्टरमा कारबाहीमा परेका व्यक्ति दुष्ट हुन् । तर, पुन: प्रेस सेन्टरमै आवद्ध पत्रकार भएको र आस्था माओवादीमै भएको बताउँछन् ।

उता चौदण्डीगढीका एमालेहरु भन्छन्, ‘दुष्ट जी एमाले प्रवेश गर्ने तयारी थियो पछि हामीलाई लाग्यो नगरपालिकाकै समाचारमा तथ्य बाहिर गएर जे मन लाग्यो त्यही मौनमौजी लेख्ने अराजक प्रवृत्ति रहेछ भनेर हामीले प्रवेश गराएनौँ ।’