
काठमाडौं, ९ असार । नेपालको अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको भव्य उद्घाटन गरेको घोषणा गरेको छ । यससँगै जे एण्ड कोले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी प्रस्तुत गर्दैछ भने स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरेको छ ।
स्टोरको उद्घाटन उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाद्वारा सम्पन्न भएको हो । जसले अनुभव र नयाँ पुस्ताको स्टाइल नेतृत्वको संयोजनलाई प्रतिनिधित्व गरेको जनाइएको छ । राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड कोको अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्याउने प्रतिबद्धतालाई झल्काउँछ । आधुनिक तथा आकर्षक इन्टेरियरसहित, यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्दछ ।
“यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,” जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले भने “एम्पोरियो अरमानीले आफ्नो अद्वितीय शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाईन दृष्टिकोणसहित फर्किएको छ । हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौं ।”
एम्पोरियो अरमानी ले नेपालमा पहिलो पटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक लुक सहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ । बाली, जसले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ, अब परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको छ ।
स्टोरको भव्य उद्घाटन समारोहमा नेपालका फैशन, व्यापार, र जीवनशैली क्षेत्रका प्रमुख व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले जे एण्ड कोलाई नेपालको लक्जरी खुद्रा बजारको अग्रणी ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ ।










प्रतिक्रिया