
– कृष्ण पौडेल
कपिलवस्तु, ६ असार । वर्षौँदेखि ओच्छ्यानमा थलिएका लोहोरौलाका महेश चौधरी आज मुस्कुराइरहेका थिए। ह्विलचेयर गुडाउँदै आफ्नै गन्तव्यतर्फ अघि बढ्दा उनका आँखाबाट झरेका आँसु खुसीका थिए । स्वतन्त्रताको स्वाद चाख्न पाएको क्षणको आँसु थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले शुक्रवार अपाङ्गता भएका व्यक्तिहरू र महिलालाई लक्षित गर्दै विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ। ‘सहारा र आत्मनिर्भरताको उज्यालो’ नारासहित सम्पन्न कार्यक्रममा ५७ जना अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री तथा ३१ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको हो।
कार्यक्रममा तीनपाङ्ग्रे साइकल प्राप्त गरेका अजय यादवले आत्मविश्वासका साथ भने, “हामी अपाङ्ग हौँ, अपूरो होइन। हामीलाई दया होइन, अधिकार र अवसर चाहिएको हो जुन आज प्राप्त भएको छ।”
गाउँपालिकाले ह्विलचेयर, सेतो छडी, चस्मा, इयरफोन र तीनपाङ्ग्रे साइकलजस्ता सामग्री वितरण गरेको थियो। यी सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने र उनीहरूलाई आत्मनिर्भरतर्फ डोऱ्याउने विश्वास गरिएको छ। महिलाहरूले पाएको सिलाई मेसिनले स्वरोजगारको बाटो खोल्ने अपेक्षा गरिएको छ। ‘अब अरूको भर पर्नु पर्दैन। आफ्नै हातले कमाउने बाटो खुलेको छ,’ एक महिला सहभागीले भनिन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता पहिचान गरी दीर्घकालीन स्वरोजगार तथा आत्मनिर्भरता अभिवृद्धिका लागि योजना अघि बढाइएको जानकारी दिए। ‘हामी चाहन्छौँ, हरेक घरमा आशा पलाओस्। अपाङ्गता अब पीडाको होइन, प्रेरणाको परिचय बनोस्,’अध्यक्ष थापाले भने।
यस्तै, उपाध्यक्ष लझ्मी चौधरीले अपाङ्गता भएका बालबालिकाको शिक्षालाई प्राथमिकता दिइएको बताउँदै सरोकारवाला संघसंस्थासँग सहकार्यमा विशेष योजना ल्याउने बताइन्।
कार्यक्रमले अपाङ्गता र अभावबीच संघर्ष गरिरहेका समुदायहरूमा आशा, आत्मबल र उज्यालोको सन्देश दिएको सहभागीहरूको धारणा थियो।









प्रतिक्रिया