
काठमाडौं, २९ जेठ । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल खबर तथा बिजमाण्डू मिडियाका समाचार सामग्रीमाथि रोक लगाउने अदालतको आदेशलाई प्रेस स्वतन्त्रतामाथि अङ्कुशको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ।
संवाद डबलीमा आफ्नो धारणा सार्वजनिक गर्दै चौतारीका अध्यक्ष गणेश पाण्डेले अदालतको प्रारम्भिक आदेशले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको उल्लेख गर्दै सो आदेश संविधान र विधिको मर्मअनुसार सुधार गरिनुपने भनेर बताएका हुन् ।
अध्यक्ष पाण्डेले पत्रकारहरू मर्यादित र जवाफदेही हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जाल र पत्रकारिता फरक विषय भएको स्पष्ट समेत पारे । ‘सामाजिक सञ्जालमा भएको गतिविधिलाई पत्रकारितासँग जोडेर मूल्याङ्कन गर्नु उचित होइन,’ पाण्डेले भने ।
उनले प्रेस काउन्सिल नेपाललाई बलियो नबनाएको कारण यस्ता परिणाम देखा परेको स्पष्ट पारे । ‘अदालतले आदेश दिन्छ, त्यसको दोष सरकार वा कार्यपालिकालाई दिँदा घटनाको राजनीतिकरण हुने खतरा बढ्छ र यसले गलत ध्रुवीकरण निम्त्याउन सक्छ,’ उनले भने ।








प्रतिक्रिया