
बागमती, २९ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।
उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकुल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।
आव २०८१/८२ मा सो कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नविकरण ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐन बमोजिम खाद्य तथ दाना नमूना सङ्कलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ सङ्कलन गरी नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताएका छन् ।
होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा चितवन लगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुरेन्टकलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले विभिन्न कार्यक्रम गरी जेठ १८ गतेदेखि २४ गतेसम्म विश्व खाद्य स्वच्छता दिवससमेत मनाएको छ ।








प्रतिक्रिया