२५ जेष्ठ २०८३, सोमबार

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १३ जेठ । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले यो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । “गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो”, उनले भने, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

कार्यालयले साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ, मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ, फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ, चैतमा चार अर्ब ५० करोड रुपैयाँ र वैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।