६ असार २०८३, शनिबार

जनप्रतिनिधिले जनताका स-साना कुरामा ध्यान दिनुपर्छ : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनप्रतिनिधिले जनताका साना साना आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनु पर्ने बताएका छन् ।

एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षको भेलालाई सोमबार ललितपुरमा सम्बोधन गर्दै पोखरेलले जनप्रतिनिधि जनताको जीवनसँग जोडिनु पर्ने बताएका हुन् । जनताको जीवनमा बदलाव ल्याउने कुरामा जनप्रतिनिधिको ध्यान केन्द्रित हुनु पर्ने उहाँको धारणा छ । ‘जनताको जीवनमा परिवर्तन ल्याउने कुरा अब हाम्रो प्राथमिकतामा पर्नु पर्दछ’, पोखरेलले भने।

पोखरेलले वडाले गर्ने काम दैनिक जनताले देख्ने काम हुनु पर्ने बताउँदै धेरै खर्च पनि नलाग्ने तर हरेक दिन जनताले याद गर्ने रचनात्मक काम वडाका जनप्रतिनिधिले गर्नुपर्नेमा जोड दिए । जरा केन्द्रित अभियानको नेतृत्व वडाका जनप्रतिनिधिले गर्न सक्ने पोखरेलले बताउनुभयो । यसले मिसन २०८४ को लागि बलियो आधार तयार गर्ने उनको धारणा छ ।

आज समाजमा राजवादी, पूर्वपञ्च र मण्डलेहरू जुरमुराएर उठ्न प्रयास गरिरहेका उनको भनाइ छ । उनीहरूका गतिविधि जनताका अधिकारका विरुद्ध छन् भन्ने कुरा जनतालाई बुझाउनु पर्नेमा उनले बताए ।

राजतन्त्रको पालामा नेपाली जनताले भोगेको कुरा थाहा नभएका नयाँ पुस्ता अहिले केही बरालिएका उनको भनाइ छ । नयाँ पुस्तालाई राजतन्त्रले दिएको दुःख सास्ती त्यो भोगेका पुस्ताले बुझाउन सक्नु पर्नेमा उन जोड दिए ।

पूर्वपञ्च र मण्डलेहरूले ठुलो पैसा खर्च गरेर गणतन्त्रका विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका पोखरेलले बताए । ‘गणतन्त्रले के दियो, लोकतन्त्रले के दियो भनेर मण्डलेहरूले प्रश्न गर्दा पनि हामीले मुखभरिको जवाफ दिन सकेका छैनौँ’, उनले भने ।

नेकपा एमालेलाई जनताले सबैभन्दा नजिकबाट निहालेकाले त्यही अनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे । एमालेको नीति राष्ट्रको नीति बनाउने गरी लाग्न उहाँले जनप्रतिनिधिलाई आग्रह गरे । जनप्रतिनिधि कस्तो हुनुपर्दछ रु एमालेका जस्तो भन्ने सन्देश दिनु पर्नेमा उनले जोड दिए ।
पोखरेलले गरेको काम पनि देखाउन नसक्ने एमालेको कमजोरी रहेको बताउँदै काम गर्नु र गरेको काम देखाउनु त्यतिकै महत्त्वपूर्ण हुने उनको धारणा छ । आफूले गरेको काम देखाउने कुरामा पनि ध्यान दिन पोखरेलले आग्रह गर्दै गरेको कामको प्रचार प्रसारका लागि थोरै भए पनि बजेट विनियोजन गर्न उनले सुझाव दिए ।

एमाले र एमाले नेतृत्व माथि भइरहेका नकारात्मक प्रचारलाई चिर्न बढीभन्दा बढी काम गर्न र त्यसको प्रचार गर्न आवश्यक रहेको उनले बताए । असल कामको प्रचार सामाजिक सञ्जालमा जति धेरै गर्न सकिन्छ खराब मान्छेहरूको प्रभाव सामाजिक सञ्जाल र आमसञ्चारमा घट्दै जाने उनको धारणा छ । यसले आफ्ना काम र पार्टीलाई बलियो बनाउने पोखरेलले बताए ।