३२ असार २०८३, बिहिबार

व्यवस्था विरोधीविरुद्ध एक ढिक्का भएर लाग्नुपर्छ : महासचिव पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिहरू जनताका विरुद्धका गतिविधि भएको महासचिव पोखरेलको ठहर छ । यसको विरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने पोखरेलको जोड छ ।

‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ’, महासचिव पोखरेलको धारणा छ ।

गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनले स्पष्ट पारे । पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको उनले जानकारी दिए । गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवको रूपमा मनाउन आमजनसमुदायलाई एमालेले आह्वान गरेको छ ।

जिल्ला कमिटीको संयोजन र पालिका कमिटीको आयोजनामा पालिका स्तरमा देश भरी गणतन्त्र दिवस मनाउने निर्णय एमालेले गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध संगठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।

प्रदेश कमिटी र जिल्ला कमिटीहरुले विभिन्न संघसंस्थाहरुलाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्ने महासचिव पोखरेलले जानकारी दिए । आवश्यकता अनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यका बाहिर प्रदेश र जिल्लाले नेतृत्वलाई परिचालन गर्ने पनि उनले जानकारी दिए ।