२ असार २०८३, मंगलबार

नो लाइट शाखाको निरीक्षणपछि मन्त्री खड्काले भने– लोडसेडिङ हुँदैन, हुन दिइँदैन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन् ।

नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिए ।

मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको भन्दै भने, ‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन ।’ उनले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध समेत गरे ।

‘विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,’ उनले भने, ‘अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ । कतै असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ । अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन् ।’

स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित एलडिसी (लोड डिस्प्याच सेन्टर)को समेत आकस्मिक अवलोकन गरेका छन् । उनले एलडिसीमार्फत मुलुकभरको विद्युत प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिएका छन् ।

निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाई गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले स्पष्ट पारे ।