१३ असार २०८३, शनिबार

२५ वर्षीय समृद्धिको योजना तयार पार्दै एमाले कोशी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, ११ जेठ । नेकपा (एमाले)ले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीसम्मको समृद्धिको सपना तयार पार्ने भएको छ ।

एमाले कोशी प्रदेश कमिटीको निर्देशन अनुसार प्रदेशका १४ जिल्लाले नै २५ वर्षीय समृद्धिको एकीकृत विकास योजना निर्माण सुरु गरेको हो । योजनाअन्तर्गत आइतबार एमाले उदयपुरले आगामी २५ वर्षको लागि ‘विकास र समृद्धिको योजना चित्र निर्माण कार्यशाला–२०८२’ सम्पन्न गरेको छ ।

कार्यशालाले उदयपुर जिल्लाको २५ वर्षीय समृद्धिको एकिकृत विकास योजना वि.सं. २०८२ देखि वि.सं. २१०७ सम्मको तयार पारेको हो । कार्यशालामा पार्टी जिल्ला अध्यक्ष भागवत राउतले योजना प्रस्तुत गरेका हुन् ।

कार्यशालामा प्रस्तुत योजनामा उदयपुर जिल्लाका ७५ वटै वडामा सञ्चालित आयोजना र सुरु गर्नुपर्ने आयोजनाबारे हालको अवस्था, ५ वर्ष पछि, १५ वर्ष पछि र २५ वर्षमा हुनुपर्ने के हो ? भन्नेबारे जानकारी गराइएको थियो ।

कार्यशालामा उदयपुरको विकास र समृद्धिका लागि पूर्वाधार, आर्थिक, सामाजिक विकास, वन तथा वातावरण (विपद्), सुशासन लगायत क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा कोशी इन्चार्ज शेरधन राईले पार्टीको दशौं महाधिवेशनले तय गरेको ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै पार्टी अध्यक्षले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न २५ वर्षीय समृद्धिको एकीकृत विकास योजना निर्माण कार्य सुरु गरिएको जानकारी दिए ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतले आगामी २५ वर्षको लागि ‘विकास र समृद्धिको योजना चित्र निर्माण’मा प्रस्तुत गरिएको परियोजनाको खाकालाई आगामी एक वर्ष भित्र पूर्णरुपले मुर्त रुप दिने र कार्यान्वयनको पक्षमा लगिने  जानकारी दिए ।