
काठमाडौं, ११ जेठ । महालक्ष्मी विकास बैंकले ३१औं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामार्फत ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ ।
बैंकले जेठ ४ गतेदेखि १० गतेसम्म देशव्यापी रूपमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै, बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यत्रमहरुमार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै, बैंकले जेठ ७ गते बुधबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

वार्षिकोत्सवको महत्त्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२५, श्रृङखला ४)मा २४ टिमको सहभागितामा बैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।








प्रतिक्रिया