
उदयपुर, १० जेठ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति उदयपुरले ‘उदयपुर नेगो स्मारिका–२०८२’ सार्वजनिक गरेको छ ।
‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको ‘उदयपुर नेगो स्मारिक–२०८२’ विमोचन तथा स्वागत सम्मान कार्यक्रममार्फत कार्यक्रमकी प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भवानी दाहालले पुस्तक विमोचन गरेकी हुन् ।
शनिबार विमोचन गरिएको पुस्तक ‘उदयपुर नेगो स्मारिका–२०८२’ संगठनको एउटा ऐतिहासिक दस्तावेजको संग्रह रहेको संगठनका उदयपुर अध्यक्ष पुण्य पौडेलले जानकारी दिए । पौडेलले यस पुस्तकमा लोकसेवाका विद्यार्थीहरुका लागि पठन योग्य सामाग्री, साहित्यिक अनुरागीहरुका लागि साहित्यिक रचनाहरू समावेश गरिएको बताए । यो पुस्तकलाई संगठक र जनस्तर सम्म पुर्याएर निजामति कर्मचारी र आम सेवाग्राहीबीच प्रगाढ सम्बन्ध जोड्ने उद्देश्य रहेको समेत अध्यक्ष पौडेलले बताए ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले सरकारले ल्याउन लागेको संघीय निजामति सेवा ऐनलाई कर्मचारीमैत्री बनाउन आफूले सक्दो प्रयास गरेको बताइन् । अध्यक्ष दाहालले आफूले ऐनमा आवश्यक संशोधन सुझाव समेत पेश गरेको बताइन् । उनले पुस्तक एउटा दस्तावेज रहेको र यसको निर्माण गरी आम श्रोताका माझ पुर्याउनु ठूलो चुनौतीको विषय रहेको भन्दै ‘उदयपुर नेगो स्मारिका–२०८२’ निर्माण गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिन् ।
‘उदयपुर नेगो स्मारिका–२०८२’ सार्वजनिक कार्यक्रममा एमाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद अम्बरबहादुर रायमाझी, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
‘उदयपुर नेगो स्मारिका–२०८२’ तेस्रो संस्करण रहेको बताइएको छ । यसअघि संगठनले ’उदयपुर सन्देश’ र ‘राष्ट्रसेवक सन्देश’ नामक दुई पुस्तक सार्वजनिक गरिसकेको थियो ।








प्रतिक्रिया