
विराटनगर, १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे ।
आज विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन समेत दिए ।
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भने, “सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् ।” थोरै थोरै बचत गरेर धेरै बनाउँला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उनले तिनलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक मामिलामन्त्री राम रानाले सदस्यको नियमनमा चल्ने सहकारीलाई सदस्यहरुले नै नियमन गर्न नसकेको बताए । उनले समितिलाई काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताए ।








प्रतिक्रिया