
दाङ, १० जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग गहन छलफल गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने स्पष्ट पारे ।
‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन । तर, हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउनेछौँ, जसले प्रदेशलाई लयमा अगाडि बढाउनेछ’ मुख्यमन्त्री आचार्यले भने, ‘विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजान प्रदेश सरकार आँटका साथ अघि बढ्ने प्रयासमा छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार आगामी वर्षको बजेटमा नयाँ योजनाभन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिनेछ । उनले भने, ‘हामी सकेसम्म नयाँ योजना बनाउने पक्षमा छैनौँ । पूरा हुन नसकेका, अधुरा योजनाहरूलाई सम्पन्न गर्ने विषय सरकारको प्राथमिकतामा पर्छ । समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात गरेर बजेट निर्माण हुनेछ ।’
मुख्यमन्त्री आचार्यले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको पनि जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रम आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्ने लगायतका सुझावहरू दिएका थिए ।









प्रतिक्रिया