२६ असार २०८३, शुक्रबार

सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता होइन : महासचिव पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता नभएको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार राति भरतपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै एउटा क्षेत्रमा सफल हुनुको अर्थ हरेक क्षेत्रमा सफल हुनु भन्ने नभएको बताएका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा चर्चामा आएका मान्छेले ‘म राजनीतिमा सफल हुन्छ’ भन्ने ठानेर हामफाल्ने गरेको चर्चा गर्दै भने, “यो राजनीति हो, सामाजिक सञ्जालमा सफल व्यक्ति यसमा सफल हुँदैनन् ।” इतिहास बोकेका राजनीतिक दलहरुलाई उपेक्षा गरेर देश अघि बढ्न नसक्ने उनको भनाई छ ।

अमेरिकामा सयौं वर्षदेखि रिपब्लिकन र डेमोक्र्याट पार्टी आपसमा प्रतिस्पर्धा गरिरहेको बताउँदै महासचिव पोखरेलले भने, “अमेरिकामा दुई वटा पार्टीले आलो पार्टी विश्व साम्राज्य चलाएकै छन् । अमेरिकी जनताले ती पार्टीको विकल्प नखोजीकन अमेरिका चलेकै छ । नेपालमा ‘पार्टी पुराना भए हामीलाई नयाँ चाहियो’ भनेर नारा लगाउनु परेको छ ।” बेलायतमा पुराना पार्टीको सान्दर्भिकता सकियो अब नयाँ चाहियो भन्ने सुन्नु नपरेको बताउँदै उनले अगाडि थपे, “नेपालीहरु यति दग्गिज भइसक्यौँ, दुनियामा जे कुराको चर्चा भयो त्यो चाहिहाल्ने । राजनीतिक विज्ञानले गर्दा यो कुरा गलत हो ।” राजनीति आफैमा एउटा विज्ञान भएको बताउँदै उनले यसका आफ्नै मूल्य मान्यता हुने बताए ।

नेपालको राजनीतिको कुरा गर्दा नेकपा (एमाले) विचार, सिद्धान्त, संगठन, जीवनशैली र आचरणका हिसाबले अरुभन्दा अब्बल पार्टी रहेको उनले बताए । उनले भने, “एमालेभित्र पनि बेलाबखत विकृति विसंगति देखिन्छन् । त्यो अपवाद हो, त्यो मूल चरित्र होइन ।”

महासचिव पोखरेलले भने, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो, जसले व्यक्तिमाथि प्रश्न उठ्यो भने त्यसलाई व्यक्तिगत प्रश्न ठान्दछ । कसैमाथि अभियोग लागेर हिरासतमा गयो भने हामी निलम्बन गर्दछौँ ।” नेपालका अरु कुनै पार्टीले त्यसप्रकारको आँट नगर्ने उनको भनाई छ ।

महासचिव पोखरेलले भने, “त्यसकारण हामी सुशासन र पारदर्शीका कुरामा नेपालका थुप्रै पार्टीको तुलनामा व्यवस्थित छौँ ।” एमालेको लेखा प्रणाली व्यवस्थित भएकै कारण अरुले धनी पार्टी भन्ने गरेको बताउँदै महासचिव पोखरेलले भने, “अरु पार्टी अरबौंको कारोबार गर्छन्, तर उनीहरुका आर्थिक क्रियाकलाप अपारदर्शी छन् । सत्य यही हो ।”

‘एमालेलाई अब नरोक्ने हो भने त हाम्रो भविष्य वर्वात हुन्छ’ भनेर एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै महासचिव पोखरेलले भने, “यो पार्टी संकटपूर्ण अवस्थामा त यसरी माथि उठ्दो रहेछ, अब त यससँग मुकाविला गर्न गाह्रो हुन्छ भनेर घेराबन्दी गर्ने प्रयत्न भएको छ ।”

कार्यक्रममा एमाले स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले मिसन ८४ मा स्थानीय एमालेमय बनाउन र प्रदेश र संघमा कम्फटेवल बहुमत पुग्ने अभियानमा लाग्नुपर्ने बताए । उनले चिकित्सकहरुलाई २०८२ मा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा जित हासिल गर्ने गरी मिसन ८२ लिएर अघि बढ्न आग्रह गरे । उनले भने, “विगतको समीक्षा गर्दै भावि योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुहोस् ।”

यस अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष झलक शर्मा गौतमले नीति निर्माण तहमा स्वास्थ्यकर्मी पुर्‍याउने राजनीति कमजोर बन्दै गएको बताए । उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने हो भने स्वास्थ्यकर्मी नीति निर्माण तहमा पुग्नुपर्ने बताए ।

संघका संस्थापक अध्यक्ष डा. सन्तोष पौडेलले देशलाई दिशानिर्देशन गर्छ भनेर संगठन निर्माण गरिएको बताए । उनले यस संगठनमा लाग्न सबै चिकित्सकलाई आग्रह गरे ।

कार्यक्रममा डा. कृष्ण अधिकारी, डा. आनन्द सिंह, डा. विकास गौचन, डा. अरुण उप्रेती, डा. विकास गुप्ता, एमाले नेताहरु कपिलदेव पोखरेल, प्रभा बराल, विमला दवाडी, श्याम विष्ट लगायतले बोलेका थिए ।

कार्यक्रममा चिकित्सकहरुले पार्टीले चिकित्सकलाई प्रयोग मात्रै गर्ने गरेको तर चिकित्सकका समस्यामा गम्भीर नबनेको गुनासो गरेका थिए ।

संघका अध्यक्ष प्रा. डा. जागेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष डा. प्रतिक न्यौपाने र संघका महासचिव डा. छवि पन्थीले सञ्चालन गरेका थिए । सम्मेलनमा देशभरका तीन सय बढी चिकित्सकहरु सहभागी छन् ।

नयाँ नेतृत्व चयन गर्दै सम्मेलन आज समापन हुनेछ ।