
रामेछाप, १० जेठ । मन्थली नगरपालिका–१२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
शुक्रबार अपराह्न ४ः३० बजेतिर ६१ वर्षीय मटकबहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्यापछि प्रहरी चौकी खिम्तिमा आत्मसमर्पण गरेका हुन् ।
उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलुस्थित माइतमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् ।
मटकबहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए ।
जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिनेगरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुराबीच झगडा भएको थियो । सोही क्रममा मटकबहादुरले बुहारीमाथि खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।
छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटकबहादुरको रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया